Logo

२०७९ जेठ १२ गते बिहिवार

images

नाती मेरो साथी !

नाती मेरो साथी !

  • 4.0K
    SHARES
  • images
    images
    नाती मेरो साथी !
    images

    ‘नातीनातिना पुस्तादेखि पुस्तासम्म जोड्ने सूत्र हो । – लोइस बाइसे

    images
    images
    images

     मंसिर १५ गते एक वर्ष पुग्यो । त्यति बेलासम्म उ उभिन सक्ने भएको थिएन । वामे सरेर नै वल्लो पल्लो कोठा चाहाथ्र्यो । अझ त्यसरी चाहार्न पनि सितिमिति कहाँ पाउँथ्यो र ? जुन कोठामा गएपनि थर्मस ढाल्ने, किताब, कापी च्यात्ने, कलम खोलेर मुखमा हाल्ने, आमाको लिपस्टीक हातमा, मुखमा, कपडामा दल्ने । त्यसैले उसलाई प्राय एउटै कोठामा ढोकाथुनेर राख्ने गरिन्थ्यो । त्यो एक किसिमको घरमै नजर बन्द जस्तै हो र बालअधिकारको हनन् पनि हो तैपनि हामीमा त्यो बाध्यता थियो । 

     तीनवर्ष भएछ विश्वविद्यालयबाट अवकाश पाएको । अब नातीको धरालो हुनु भन्दा उपयुक्त काम के नै रह्यो र मेरा लागि ? म मात्रै हो र ? हामी बुढाबुढीको मुख्य काम नै यही भएको छ आजकाल । अझ, बाबु आमालाई गाह्रो होला भनेर उसलाई हेर्ने एकजना गोठालोकै व्यवस्था गरिदिएका छन्  छोरा बुहारीले । बच्चा हुर्काउनु यति गाह्रो काम हो र ? म आफैलाई प्रश्न गर्छु कहिलेकाहीँ ।

    हाम्रा बज्यै, आमाका कुरा छोडौँ । मेरी श्रीमतिले नै ३ भाइ छोरा हुर्काइन् गाउँमा । म वर्षमा २/४ पटक मात्र गाउँ पुग्थें त्यतिबेला । घरमा परिवारका सदस्यहरू त हुन्थे नै । गाउँका सबै महिलाहरूले जस्तै उनीपनि बिहान घरको धन्दा सकेर बच्चलाई दुधपान गराईओरी घाँस काट्न गयो, घाँसको भारी बिसाएर खाना गएछि मेलातिर कुद्यो, साँझमा फर्केपछि चर्कंदै गरेको दुध खुवायो । बस्, यसरी नै हुर्कीए हाम्रा छोराहरू ।

    आजकल प्रायः गाउँमा पनि बच्चा हुर्काउन यस्तो कहर काट्नु पर्दैन । बिवाहपछि श्रीमतीलाई पनि सँगै लग्ने, विदेशै जानुपर्ने भए शहरतिर डेरामा छोड्ने । कि त पढ्ने, नभए कुनै काम गरेर शहरको बसाई गर्ने चलन अहिले ब्यापक भइसक्यो । यस्तो खालको जीवनचर्या भएसँगै बच्चा जन्माउने र हुकार्उने तौरतरिकामा पनि ब्यापक फेरबदली आईसक्यो आजकाल । 

    बच्चा हुर्काउने कुरा गर्दा मलाई बारम्बार एक जना भतीजीको याद आईरहन्छ । उनकी श्रीमान् नेपाल आर्मीमा जागिरे हुनुहुन्थ्यो । भतिजी श्रीमानसँगै वैरेनीमा बस्थिन् । छोरो डेढ वर्षजतिको हुँदो हो, ज्वाईं शान्ति सेनामा खटिनु भयो । ज्वाईं जानुभएको केही महिनामै छोरीले अर्काे बच्चा जन्माइन् । सुरुमा त घर/माइतबाट आमाहरू आएर सुत्केरी उतार्ने कामभयो । तर १/२ महिनापछि बाट ती छोरीले एक्लै २ छोरा छोरी डेरामा कसरी सम्हालीन् होला भनेर मलाई अचम्म लाग्छ । बेलाबेलामा म उनलाई फोन गर्थें । कस्तो छ नानी ? उनी हाँसेरै जवाफ दिन्थिन्– ‘ठीकै छ बुबा आफ्ना छोराछोरी सम्हाल्न पनि केको गाह्रो ’ आखिर अरु काम के नै छ र ?’

    म अहिले नातीको चकचक देख्दा उनलाई सम्झन्छु । एकजनालाई सम्हाल्न त हामी सिंगो परिवारलाई यति गाह्रो । नाती साह्रै चकचके । यस्तै चकचके सबैका बच्चा भए के गर्थे होलान् ? तर बच्चाको विशेषता नै चकचके हुनु हो । हामीहरूलाई लाग्छ, आफ्नो बच्चामात्र यस्तो चकचके छ, टाँठो छ, राम्रो छ, या हरामी छ आदिआदि । 

    मलाई अकवर वीरवलको किस्साहरू खुब मन पर्छ । एक पटक अकवरले वीरवलसँग सोधेछन्– ‘वीरवल यो दुनियाँमा सबै भन्दा महसुर को छ ?’ उनले अपेक्षा गरेका थिए –हजुर नै हो । अकवर वादशाह रहुन्जेल यो दुनियाँमा अर्काे बहादुर को हुन सक्छ ? तर वीरवलले जवाफ दिए हजुरको नाती । अकवर जिल्ल परे । कसरी यो अवोध बालक म भन्दा महसुर हुन सक्छ ? वीरवलले जवाफ दिए– ‘किनकी हजुर संसारको सबै भन्दा वलवान वादशाह तर नातीले हजुरको जुँगा तानेर ऐया ऐया पारिदिन्छ, हजुर निरीह बन्नु हुन्छ । नातीलाई केही गर्न सक्नु हुन्न ।’ अकवरले सोचे– हो त ! यो कुरा सही हो । म भन्दा बहादुर मेरो नाती हो !

    मैलेपनि अकबरकै नियती भोग्नुपरिरहको छ नातीबाट । उ मेरो जुँगा तान्छ, म ऐया ! ऐया !! भन्नु भन्दा केही गर्न सक्दीन । उ १ हप्ता जति भयो सोफामा समातेर उभिन थालेको । अलिअलि गर्दै पाइला सार्न थालेको छ । हामी खुशीले गद्गद् भयौँ । अस्तिबाट कोठाको वल्लो छेउ–पल्लो पल्लो कुना गरेको छ उसले । उसले टुकुटुकु हिँडिदिँदा परिवारमा खुसीको सीमा छैन । हिजो त पल्लो कोठाबाट हिँडेर वल्लो कोठामै आयो । आजबिहान त कोठाबाटै हरायो ! आत्तिदै मैले उसलाई वल्लो कोठा पल्लो कोठा खोजें । उसलाई बोलाउँदै माथि गएँ । ऊ त चार हातखुट्टा टेकेर भ¥याङ चढेर माथि बरन्डामा पुगिसकेछ । अहिले ऊ खाटबाट, सोफाबाट पुल्टुङ पुल्टुङ लड्न पनि छोड्यो । अलक्क पछाडि फर्केर झर्न सिकिसक्यो । उसको प्रगतिले म दंग हुन्छु । खुसीले पुलकित हुन्छु । 

    बच्चाबच्चीहरू वामे सरेको, टुकुटुकु हिँड्दै लड्दै गरेको, अनी तोते बोली बोलेको देख्दा, सुन्दा स्वर्गीय आनन्द प्राप्त हुन्छ जसलाई पनि । आफु पनि फेरि त्यस्तो हुन पाए भन्ने सबैको मनमा आउँछ । तर फेरि यस्तो जिन्दगी चाहनु मनको लड्डु घ्यूसँग खानुमात्र हो । यदि भगवान् ले मलाई मनुवा तँ के चाहन्छस् भनेर सोधे म त पुनः बालक बन्न पाउँ भन्नेथिएँ !

    हाम्रो घरको लागि यो नाती पहिलो बच्चा होइन । ५ वटा नातीनातीना पछिको फुच्चे हो यो । जागीरको सिलसिलामा कताकता भइयो । न छोराहरूलाई उनीहरुले महशुस गर्नसक्ने गरी माया गर्ने अवसर मिल्यो न त अन्य नातीनातिनालाई नै । सबैको आ–आफ्नै भाग्य हुनेरहेछ । जेजति लेखेको छ त्यति नै पाइने होला । एउटा आईरिस भनाई छ– ‘छोराछोरीहरू तिम्रा लागि ईन्द्रेणी हुन् भने नातीनातिना सुनको भाँडो ।’ त्यसैले होला सावाँको भन्दा ब्याजको माया बढी हुन्छ भनेझैँ नातिनातीनाको माया बढी नै लाग्ने रहेछ त्यसैले नातीनातिना र हजुरबुबा, हजुरआमाबीचको माया झन् गाढा र प्रगाढ हुने रहेछ । अहिले आएर आफ्नै भोगाईबाट थाहा पाइयो । 

    कति मज्जाको बेला ! भोक लाग्यो रोइदियो, निन्द्रा लाग्यो रोइदियो । बस्न मन लागेन रोइदियो । जे गरे पनि मेरो बाबालाई के भयो, किन रोएको, मेरी छोरी भन्दै च्यापी हाल्छन् । के खान्छ्यौँ ? बुबु ? माम ? पापा ? कि नुनु गर्छ्यौ ? हजुरबुवासँग जाने कि हजुर आमासँग ? कि बुबासँग जाने ? नजाने ? ल आउ त घुम्न जाउँ बाहिर । रुनु हुन्न । ज्ञानी मान्छे रुन हुन्न । अहो ! कस्तो पुगेसरी ! त्यसै हो र मलाई फेरि बच्चामै फर्कन मन लागेको ?!

    मैले मात्रै किन ? पाए सबैले फेरि त्यही बेला रोज्थे होलान् नी । तर पृथ्वीका मानिसहरूको आयु लम्विंदै गएर बुढाबुढीहरूको जनसंख्या बढ्ने, केटाकेटीको घट्ने अवस्था पो भयो त । खै यसलाई मान्ने की नमान्ने ? तर नमानेर पनि त भएन !

    हाम्रो समाजले हालसम्म धान्दै आएको संयुक्त परिवारको राम्रो पक्ष नै यही हो । तथाकथित विकशित समाजमा जस्तो १८ वर्ष पुगेपछि छोराछोरीले बाउआमा छोडेर बेग्लै बस्न सकेनन् भने किन घरमै बसीरहेका होलान् ? यीनमा केही कमीकमजोरी त छैन भनेर सोच्न थाल्नुपर्ने अप्रिय संस्कार कमसेकम हामीमा छैन । केटाकेटी मिलेर लिभिङ्ग टुगेदर भएपछि बल्ल बाबु आमालाई ढुक्क हुने समाजले बाजे बज्यैको मायाममता र स्पर्स कसरी महशुस गरुन् ?

    20210904_132157 (1).jpg

    केही वर्ष पहिले अमेरिकामा रहेकी जेठी बुहारीले छोराको अटेरी पनबाट रिसाएर हामै्र अगाडि “तँलाई १८ वर्ष त पुग् अनि वस्लास् यो घरमा” भनिदिइन् । यति भएपछि हामी बुढाबुढीलाई पुगीहाल्यो । आफ्नो त्यो १० वर्षको बच्चालाई के भनेकी होला ? अहिले पनि बेलाबेलामा हामी बिचमा त्यो कुरा चलिरहन्छ अनि मनमा एकप्रकारको  खिन्नताबोध भइहाल्छ । कतै त्यस्तै भयो भने ठूलो नातीको के हाल होला ? मनमा चिन्ता उत्पन्न हुन्छ !

    यो १३/१४ महिनाको कान्छो नातीले बाबा, दुदु भन्दै लड्दै, पड्दै, रुँदैहाँस्दै गरेर निरस बन्नसक्ने अवकासप्राप्त हाम्रो जीवनमा खुशीको हरियाली ल्याइदिएको छ । घरमै बसिरहेमा श्रीमतीलाई पनि खुशीहुने वातावरण बन्ने रहेछ । आफ्नो त्यस्तै काम र व्यस्तताका कारण छोरा खेलाउने खुशी लिन नपाएको मैले अहिले नातीबाट प्राप्त गरेको छु । अरु नातीनातिनालाई काखमा हुर्काउन नपाएको न्यास्रो कान्छो नातीबाट मेटाउन पाइएको छ । त्यस्तैगरी सबैले भन्दा बढी मायापनि उसैले पाउने सौभाग्य मिलेको छ । घरमा म भएसम्म ऊ कसैसँग जान मान्दैन । अहिले हामी एक अर्काका सबैभन्दा मिल्ने साथी भएका छौँ । हो, “नाती मेरो साथी” भएको छ, यसैमा असीम आनन्द मिलेको छ ! 

    २०७८/१०/०४

     

    images
    प्रकाशित मिति :माघ १२ २०७८ बुधवार - ०९:१३:५४ बजे

    इश्वर चन्द्र बानियाँ

    सम्बन्धित समाचार