Logo

२०७९ जेठ १२ गते बिहिवार

images

कतै रावणको जस्तै दुर्गति भोग्नु नपरोस्

कतै रावणको जस्तै दुर्गति भोग्नु नपरोस्

चिन्तामणि रिजाल

१३ माघ २०७८
  • 2.8K
    SHARES
  • images
    images
    कतै रावणको जस्तै दुर्गति भोग्नु नपरोस्
    images

    राक्षसको रुपमा चिनिएका लङ्का राजा रावण एक महान विद्वान मात्र होइन महान पण्डित एवम कुशल राजनीतिज्ञ पनि थिए । यति मात्र होइन उनी एक महान ज्योतिष तथा भगवान शिवका भक्त पनि थिए । रावणले नै शिव ताण्डव स्त्रोत र शिव संगीतको रचना गरेका थिए । उनी बुबा ऋषि र आमा राक्षसबाट जन्मेका हुनाले उनीमा बुवाको जस्तो ज्ञान र आमाको जस्तो राक्षसीपन थियो । रावण आफ्नो युगको पण्डित मात्र होइन उनी अनेकौं ज्ञानले पनि भरिपूर्ण थिए । उनले आफ्नो युगमा आयुर्वेद र ज्योतिषको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उनको विद्वत्तालाई तिन ओटै लोकमा कसैले पनि जित्न सक्दैनथे । रावणसँग एउटै समस्या थियो त्यो हो घमण्ड र अहंकार । रावणको अहंकार र घमण्डले गर्दा उनले धेरै पाप र अधर्म गरेका थिए । त्यही कारणले गर्दा भगवान श्री रामबाट रावणको अन्त्य भएको थियो । हरेक दानवभित्र मानवता पनि लुकेको हुन्छ तसर्थ हामीले रावणबाट धेरै महत्वपूर्ण र जीवन उपयोगी मानवरुपी ज्ञानका कुरा सिकेर हाम्रो जीवनलाई बदल्न सक्छौ । 

    images
    images
    images

    जतिबेला श्रीराम र रावणको बिचमा भीषण युद्ध भयो र श्रीरामको बाणबाट रावण युद्ध भूमिमा ढले त्यतिनै बेला भगवान श्रीरामले लक्ष्मणलाई रावणसामु पठाएका थिए । रावणको अनुपम विद्वता सम्मान गर्दै भाई लक्ष्मणलाई भनेका थिए "हेर भाइ १ तिन ओटै लोकमा रावणको विद्वत्तालाई कसैले पनि जित्न सक्दैन त्यसैले तिमी पनि रावणबाट धेरै उपयोगी ज्ञान सिकेर आऊ जसले तिमीलाई अगाडिको यात्रामा मद्दत पुर्याउनेछ ।"

    रावणले आफ्नो जीवनको अन्तिम घडीमा लक्ष्मणलाई केही महत्वपूर्ण ज्ञानहरु दिएका थिए । जुन ज्ञानहरु अहिले पनि हाम्रो लागि उत्तिकै सान्दर्भिक र उपयोगी छन जसले हाम्रो जीवनलाई बदल्न सक्छ । रावणले जुन ज्ञानहरु लक्ष्मणलाई दिएका थिए ति ज्ञानलाई संसारभरि फैलाई दिन समेत अनुरोध गरेका थिए ताकि संसारका कुनैपनि मानिसले रावण बन्ने प्रयास नगरुन् र यी ज्ञानबाट आफ्नो जीवन परिवर्तन गर्न सकुन् ।

    उनीमा अद्भुत ज्ञान थियो तर त्यो ज्ञान राम्रो कामका लागि उनले कहिल्यै पनि प्रयोग गरेनन् । आफ्नो विद्वत्ता र शक्तिको घमण्डको कारण रावणले आफ्नो सुन्दर राज्य लंका मात्र गुमाएनन्, जीवन पनि गुमाए । उनलाई यी सबैकुराको ज्ञात जतिबेला भयो त्यतिबेला उनले सबै कुरा गुमाइसकेका थिए । उनले मृत्युको सामु घुँडा टेकिसकेको थिए । लोभ, लालच र अहंकारको पर्दाले उनका आँखा ढाकिएका थिए । जव लोभ, लालच र अहंकारको पर्दा उनको आँखाबाट हट्यो तव सबै गुमाइ सकेको थियो । 

    रावणले आफ्नो शत्रु रामलाई कम्जोर ठान्ने र आफ्नो भाइ विभिषणलाई राज्यबाटै निष्कासन गर्ने जुन धृष्टता गरे त्यही नै उनको विनासको कारण बन्यो ।

    त्यसैगरी, उनले आफ्नो युद्ध नीतिलाई पनि गोप्य राख्न सकेनन् भने उनको घमण्ड र अहंकारको कारण आफ्नै प्रजाले समेत उनलाई साथ दिएनन् । यीनै कारणहरुबाट रावणको सम्पूर्ण साम्राज्य ध्वस्त भयो । 

    आज हाम्रो मुलुकमा भएका राजनीतिक दल र दलका नेता तथा कार्यकर्ताले पनि रावणबाट केही पाठ सिक्नु जरुरी छ । लामो संघर्ष गरेका राजनीतिक दलहरु तिनका नेताहरुको अकर्मण्यता, अक्षमता र भ्रष्ट्र आचरणका कारण मुलुक असफलताको‌ बाटोतर्फ अगाडि बढ्दैछ । जनतामा दल र दलका नेता प्रतिको विश्वास दिनप्रतिदिन घट्दैछ । नेताले जस्तोसुकै गल्ती र अपराध गरेपनि आलोचना गर्नेभन्दा समर्थन गरेर झन गलत कार्य गर्न उक्साउने दास मनोवृत्ति भएका अन्धभक्त कार्यकर्ताको चरित्रले अझ नेताहरुलाई गलत कार्य गर्न प्रोत्साहन गरिरहेको छ । 

    सच्चा कार्यकर्ता त्यो हो जसले आफ्नो नेताको गुण अवगुण अगाडि नै आलोचना गर्दछ र गलत र सही छुट्याउन सक्दछ । एउटा नेता बिग्रनुमा कार्यकर्ताको पनि ठूलो भूमिका रहेको हुन्छ । नेताको गलत कामलाई कार्यकर्ताले औलाईदिने र त्यसको विरुद्ध खबरदारी गर्ने हो भने नेता बाध्य भएर सत्यको बाटोमा हिड्ने थिए । तर कुनैपनि राजनीतिक दलका कार्यकर्ताले त्यो भूमिका निर्वाह गर्न सकिरहेका छैनन् । आज हरेक दलमा असल र इमान्दार कार्यकर्ताको खाँचो छ जसले आफ्नो नेतालाई सत्मार्गमा डोर्याउन सकुन् र उनीहरुका गलत क्रियाकलापलाई गलत र सही क्रियाकलापलाई सही भनेर औला ठड्याउन सकुन् । आज मुलुकमा दलहरुबिच एकताको खाँचो छ । दलहरुमा एकता कायम भए लोकतन्त्र बलियो हुन्छ ।

    लोकतन्त्र बलियो भयो भने शुशासन कायम हुन्छ र राष्ट्र बलियो हुन्छ । राष्ट्र बलियो भएमा वाह्य हस्तक्षेप हुदैन । तर यसको ठिक विपरित मुलुकमा दलहरुलाई कम्जोर बनाएर राजनीतिक अस्थिरता कायम गर्ने कोशिस भइरहेको छ । जसको परिणाम पाँच वर्षका लागि भनेर जनताबाट अनुमोदित करिब दुई तिहाईको सरकारले पनि आफ्नो ५ वर्षको कार्यकाल पुरा गर्न सकेन । ०४६ सालको जनआन्दोलन पश्चात स्थापना भएको बहुदलीय व्यवस्था देखि गणतन्त्रसम्म आइपुग्दा कुनैपनि सरकारले आफ्नो ५ वर्षको कार्यकाल पुरा गरेको इतिहास नै छैन । करिब ३२ वर्षको यो शासन अवधिमा पटकपटक गरेर २६ वटा सरकारको निर्माण भईसकेको छ भने १३ जना प्रधानमन्त्री बनिसकेका छन । अवसरवाद र आत्मकेन्द्रित संस्कृतिमा चुर्लुम्म डुबेका नेता तथा कार्यकर्ता राजनीतिक अस्थिरता खडा गरेर राज्यको ढुकुटी दोहन गर्नमै केन्द्रीत छन । राजनीतिक दलहरुमा स्पष्ट कार्यनीति तथा कार्यदिशा नहुँदा देशमा राजनीतिक स्थायित्व कायम हुन्छ भनेर अझैपनि भन्न सकिने आधारहरु छैनन् ।

    राजनीतिक दलभित्रको आपसी खिचातानी, गुट–उपगुटको निर्माण, अस्वस्थ प्रतिस्पर्धा, निषेधको राजनीति, बाचुन्जेलसम्म पदमा रहिरहने प्रवृत्ति, पद र शक्तिको दुरुपयोग र सो प्राप्तिका लागि जस्तोसुकै घृणित कार्य पनि पछि नपर्नु, भ्रष्ट्रचार, कमिशनतन्त्र, दण्डहिनता जस्ता विकृति मौलाउँदा आन्दोलनबाट प्राप्त उपलब्धी नै गुम्ने खतरा बढेको छ । यहाँ जुटको राजनीतिले होइन फुटको राजनीतिले प्रश्रय पाइरहेको छ । घात प्रतिघात मौलाएको छ । हरेक राजनीतिक दलसँग फुटको पिडा छ । फुटको पिडा नभएको राजनीतिक दलसँग गुटको पिडा छ । राजनीतिक दल–राजनीतिक दल, नेता–नेता र कार्यकर्ता–कार्यकर्ता विचमा विश्वासको संकट छ ।

    लोभ, लालच र अहंकारले दलका नेताहरुलाई विवेकशून्य बनाएको छ । नेताहरु राष्ट्र र जनताको हितमा भन्दा सत्तामोह र निजी स्वार्थमा मात्र केन्द्रित छन । विधिको शासन भाषणमा मात्र सिमित छ, व्यवहारमा देखिदैन । यहाँ “जसको लाठि उसको भैंसी” हो भन्ने मान्यता स्थापित हुदै गएको छ ।

    यो परिस्थिति सिर्जना हुनुमा केवल राजनीतिक दलका नेता मात्र जिम्मेवार छैनन् । जनताको मौनता र सही र गलत छुट्याउन नसक्ने दलका कार्यकर्ता अझ बढी जिम्मेवार छ्न । जनताको मौनता नहटेसम्म र हरेक राजनीतिक दलका नेता तथा कार्यकर्ताले आफूलाई रुपान्तरण नगरेसम्म मुलुकमा राजनीतिक स्थायित्व र सुशासनको प्रत्याभूति हुनेछैन । 

    दलका नेताहरुमा एकता नभएसम्म राजनीतिक स्थायित्व कायम हुदैन, राजनीतिक स्थायित्व कायम नभए सुशासन हुदैन । अव दलका नेताले सत्तामोह तथा निजी स्वार्थ, आपसी झै–झगडा, लोभलालच, अहंकार र गुट-उपगुट तथा निषेधको राजनीति त्यागेर मुलुक र जनताको स्वार्थको बारेमा सोच्नु जरुरी छ । होइन भने रावणको जस्तै दुर्गति भोग्नु पर्दैन भनेर भन्न सकिदैन ।

    चिन्तामणि रिजाल
    विराटनगर

    images
    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - ११:३०:३६ बजे

    चिन्तामणि रिजाल

    सम्बन्धित समाचार