'तीतेपातीले कुन कुन रोगब्याधीको घरेलु उपचार गर्न सकिन्छ भन्नेबारे अत्यन्त सरल र व्यावहारिक पुस्तकको यही चैत पाँच गते शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानमा विशेष कार्यक्रमबीच लोकार्पण भएको छ । उक्त कार्यक्रमलाई प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा• जगमान गुरुङले रैथाने जडिबुटी 'तीतेपाती' अचुक घरेलु औषधि भएको बताए ।
तीतेपातीबाट रक्तचाप, मधुमेह, छालाजन्य घाउ-खटिरा, चिलाउने रोग जस्ता दर्जनौं रोगको उपचार सम्भव हुने दाबी गरे । देवी-देउराली,नागथान, जलधारा जस्ता ठाउँहरूमा चढाउनेदेखि विष शोधन गर्न पनि तीतेपातीकै प्रयोग हुने गर्छ भन्ने उनको कथन थियो ।
अर्का अतिथि साहित्यकार डा• नवराज लम्सालले तीतेपाती पुस्तक रोगविरुद्ध सूचना हो र हाम्रो संस्कृति पनि भएको भनाइ राखे । उनले थपे- 'कृति आयुर्वेद, प्राकृतिक चिकित्सा र पौरत्स्य ज्ञानको त्रिवेणी हो ।' लेखक उत्तमकुमार बज्राचार्यले पुस्तकभित्र समेटिएका विषयवस्तु र तिनको प्रयोजनबारे आफ्नो भनाइ राखे ।
उनले राजेन्द्रमान डङ्गोल, मिलन कोइराला,नवराज लम्साललगायतका कृति प्रकाशित गर्न हरतरहले सघाउने व्यक्ति र संस्थालाई कृतज्ञता ज्ञापन गरे । कार्यक्रमका अध्यक्ष तथा प्रकाशन संस्था भुँडीपुराणका केशवप्रसाद पराजुलीले उपस्थित अतिथिलगायत सम्पूर्णजनलाई धन्यवाद टक्र्याए ।
अतिथिहरूलाई स्वागत गर्दै नियात्राकार राजेन्द्रमान डङ्गोलले 'तीतेपाती' एउटा महत्वपूर्ण, पठनीय तथा सङ्ग्रहणीय पुस्तक भएको जिकिर गरे । नेपाल जडिबुटीको भण्डार भए पनि तिनलाई सदुपयोग गर्न नसकिएको उनको कथन थियो । लेखकले अमूल्य पुस्तक प्रकाशन गरेर सारा नेपालीलाई अविस्मरणीय गुन लगाएको बताए । 'तीतेपाती' एक दर्जन शीर्षकमा विभक्त छ जसमा चिनियाँ इतिहासदेखि तेल निकाल्ने तरिकासम्म समेटिएको छ ।